Indrenionline.com

जुवामा ३९ लाख सरकारी पैसा हारेपछि गाविस सचिव बेपत्ता

डोटी, ९ मंसिर । गाविसका सचिवले कति पैसा हिनामिना गर्न सक्छन्– एक, दुई लाख वा दश लाख ? होइन, एकैपटक ३९ लाख झ्वाम पार्न सक्छन्, त्यो पनि जुवाको खालमा । डोटीका पोखरी र जिजोडामाडौं गाविसका सचिव ईश्वरबहादुर सिंहले दुवै गाविसको सामाजिक सुरक्षा भत्ताले जुवा खेलेका छन् ।

सिंहले प्रथम चौमासिकअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, दलित र बालबालिकाको भत्ता लिएका थिए । उनले दसैँअघि नै बैंक खाताबाट भत्ता लिएका थिए । त्यसपछि सम्पर्कमा नरहेको जिल्ला विकास समिति डोटीले जनाएको छ । गाविससचिव सिंहले तिहारअघि सामाजिक सुरक्षा वितरणका लागि डोटीको पोखरी गाविसको २४ लाख ९४ हजार चार सय र जिजौडामाडौंको १४ लाख ६ हजार गरी ३९ लाख रुपैयाँ बुझेका थिए ।

तिहारको लक्ष्मीपूजाका दिन जुवामा अधिकांश रकम हारेपछि उनी बेपत्ता भएको स्थानीय विकास अधिकारी कृष्ण गौतमले बताए । प्रत्येक महिनाको ४ गते जिविसमा गाविस सचिवहरूको बैठक बस्ने गर्छ । उनी पछिल्ला दुवै बैठकमा अनुपस्थित भएको एलडिओ कृष्ण गौतमले बताए । जिविसले गाविसको खातामा

दसैँअघि नै हालिदिएको सामाजिक सुरक्षा भत्ता सचिव सिंहले बाँडेका थिएनन् । तर, स्थानीयले समयमा नै गुनासो नगरेकाले अनियमितताको छानबिन ढिलाइ भएको गौतमले बताए । सिंह भने दसैँदेखि नै जिविसको सम्पर्कमा नरहेको गौतम बताए ।

सामाजिक सुरक्षाको भत्ता बैंकबाट झिकेर उनी दसैँअघि नै घर गएका थिए । उनका छिमेकीका अनुसार घरनजिकै उनले जुवा खेलेका थिए । भत्ताको अधिकांश रकम जुवामा हारेपछि उनी जिविसको सम्पर्कमा छैनन् ।