काठमाडौं, ८ मंसिर । अन्तः मधेसी मोर्चा संविधान संसोधनमा सहमत भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकमा संविधान संशोधन प्रस्ताव अघि बढाउने सहमति भएको छ । सरकार र मधेसी मोर्चाबीच संविधान संशोधन प्रस्ताव अघि बढाउने विषयमा सहमति भएको छ ।
प्रधानमन्त्रीको प्रस्तावपछि बैठकमा सहभागी दलका नेताहरूले यसप्रति सकारात्मक धारणा राखेका छन् । संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन सरकार र मोर्चाबीच भएको छलफलमा मोर्चाले प्रचण्ड प्रधानमन्त्री हुनुअघि भएको तीन बुँदे सहमतिको पेरिफेरीमा रहेर सहमति जनाएको बताइएको छ ।
बैठकपछि माओवादी केन्द्रका नेता बर्षमान पुनले सत्तारुढ पार्टीहरु बसेर भएको छलफलका आधारमा संसोधन प्रस्ताव संसदमा लैजाने सहमति भएको बताए । ‘सहमति भएको छ अब ड्राफ्ट बनाउने काम अघि बढ्छ ।
ड्राफ्ट बनाउने काम सरकारको हो र त्यसका लागि सत्तारुढ पार्टीहरुका वीचमा सल्लाह हुन्छ,’ उनले भने, ‘सिमांकन, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वको विषय र नागरिकताको विषय समेटेर संसोधन प्रस्ताव चाँडै दर्ता हुन्छ ।’