काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बौद्धनाथ स्तुपाको उद्घाटन गरेका छन् । २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षति भएको बौद्धनाथ स्तुपाको पुननिर्माण सकिएपछि उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बौद्ध स्तुपाको पुनर्निर्माण देशकै उत्कृष्ट नमूना भएको बताए। उनले ‘देश र जनताको लागि केही गर्नेहरुका लागि बौद्ध स्तुपाको पुनर्निर्माण एउटा उद्यारणीय नमूना भएको बताए ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित पर्यटन मन्त्री जीवनबहादुर शाही, चिनियाँ बौद्ध धर्मगुरु इन सुन लगायतका बौद्धधर्म गुरुहरुको उपस्थिति थियो। बौद्ध स्तुपा निर्माण गर्दा चीन र चीनभित्रका विभिन्न संघसंस्था, तिब्बती धर्मगुरु र स्थानीयसहितको करिब ३० करोड बराबरको रकम संकलन भएको थियो। २३ करोडमा स्तुपाले नयाँ रुपरंगसहित समयमै पुनर्निर्माण भएको बौद्धनाथ विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जनाए।
बाँकी ७ करोड रकम बौद्धनाथ विकास समितिको कोषमा राखिएको छ। बौद्ध स्तुपाको निर्माण गर्न तिब्बती धर्मगुरु ताइ सितुपा रिन्पोचे एक्लैले २६ केजी सुन दान गरेका थिए भने चीन सरकार र चिनियाँ संघसंस्थाबाट ८ करोड बराबरको रकम संकलन भएको थियो। स्थानीय बौद्ध धर्मलम्बी र अन्य दाताहरुको आर्थिक सहयोगका अतिरिक्त जनश्रमदान पनि गरिएको थियो।