भीमदत्तनगर, ५ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले संविधान संशोधनसँगै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
“चैतभित्रै स्थानीय तहको निर्वाचन हुन्छ ।”
उनले महाधिवेशनपछि बाँकी रहेको पार्टी पदाधिकारी चयन र विभागले चाँडै पूर्णता पाउने जानकारी दिए । पार्टीभित्र भागबन्डाको राजनीति बढेको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा सभापति देउवाले सबैलाई मिलाएर लैजानुलाई भागबन्डा भन्न नमिल्ने धारणा राखे ।
सुदूरपश्चिमको पुल, सडक, उत्तरी नाका खोल्ने, विद्युत् आयोजनालगायतका विकास निर्माणलाई अगाडि बढाउने विषयमा आफूले पहिल गरिरहेको उनको भनाइ थियो । “महाकालीमा चार लेनको पक्की पुल र दोधाराचाँदनीमा सुख्खाबन्दरगाह बनाउन पहल हुँदैछ”, देउवाले भने ।