काठमाडौं, ५ मंसिर । सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ । प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकारले कडाइ गर्न लागेको हो । १८ फागुन ०७१ मा सरकारले राजपत्रमा सूचना निकाल्दै २० वर्ष पुराना गाडीको सम्पूर्ण राजस्व तिर्न समयावधि दिएको थियो ।
आगामी १९ फागुनपछि पुराना गाडी व्यवसायी आफैँले पत्रु बनाउनुपर्ने भएको छ । बस, ट्रक, माइक्रोबसलगायतका भाडाका सवारीसाधन कवाडीमा बेच्नुपर्ने हुन्छ । सवारी तथा यातायात व्यवस्था ऐनमा २० वर्ष पुराना गाडी हटाउनुपर्ने प्रस्ट प्रावधान छैन । तर, यातायात व्यवस्था विभागले आवश्यकताअनुसार पुराना गाडी नियन्त्रण गर्न सकिने जनाएको छ । सोही आधारमा विभागले २० वर्ष पुराना गाडी हटाउन लागेको हो ।
पहिलो चरणमा भाडाका सवारीसाधनमाथि २० वर्षको प्रावधान लागू गर्न लागिएको हो । क्रमशः निजी गाडी तथा मोटरसाइकलमा पनि लागू गरिने यातायात व्यवस्था विभागका प्रवक्ता डा. पाण्डेले बताए ।