इन्द्रेणी संवाददाता
दाङ, ४ मंसिर । सातौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७३ दाङमा हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आयोजनामा मंसिर ३० गतेदेखि पौष ६ गतेसम्म घोराहीमा हुने महोत्सवको तयारी तीब्र रुपमा भइरहेको छ । महासंघ दाङले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी शैक्षिक महोत्सवको तयारी तीब्र रुपमा भइरहेको र यसलाई सफल पार्न सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
महोत्सव सफल पार्न मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन भएर काम थालिएको अध्यक्ष वरालले बताए । ‘हामीले महोत्सव तयारीका लागि विभिन्न उपसमितिहरु पनि गठन गरेका छौं ती समितिले काम गरिरहेका छन्’, उनले भने, ‘महोत्सव सफल पार्नका लागि सहयोगका लागि विभिन्न पक्षसँग छलफल गर्दै छौं ।’
महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई ३० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ निर्धारण गरिएको छ । सात दिनसम्म सञ्चालन हुने शैक्षिक महोत्सवमा विभिन्न पुस्तक प्रकाशन गृहको सहभागिता रहने छ भने विभिन्न चर्चित पुस्तकहरुको प्रदर्शणी, विक्री वितरण तथा सूचना प्रविधिको प्रदर्शणी रहने आयोजकले बताएको छ ।