काठमाडौं, ३ मंसिर । नेपालमा भएका प्रतिबन्धित भारु पाँच सय र एक हजार दरका नोट साटिने संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रतिबन्धित ५ सय र हजार दरका भारु तीन सर्त तोकेर साट्ने व्यवस्था गर्न लागेपछि यस्तो संकेत देखिएको हो । प्रतिबन्धित नोट साटिदिने भारतीय संकेतपछि राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन लागेको हो ।
यसका लागि राष्ट्र बैंकले हिजो समिति समेत गठन गरेको छ । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेर आन्तरिक व्यवस्थापनको पूर्वतयारीसमेत सुरु गरेको हो । समितिले आजका लागि पहिलो बैठक राखेको छ ।
सो बैठकले नोट सटहीलाई कसरी व्यवस्थापन गर्ने, जाली नोट सटही हुनबाट कसरी रोक्ने र खुला सिमानाका कारण भारतबाट थप नोट आउन नदिएर नेपालमा भएका वैधानिक नोट मात्रै साट्ने व्यवस्था कसरी मिलाउने भन्नेजस्ता विषयमा छलफल गरिने डेपुटी गभर्नर शिवाकोटीले बताए ।
‘भारतले नेपालीसँग भएको वैधानिक भारु सटही गरिदिने अपेक्षाले यसको पूर्वतयारी थालेका हौं, भोलिदेखि नै सटही गनूस् भन्ने जानकारी आयो भने तत्काल सटही थाल्नका लागि तयारी सुरु गरेका हौं,’ डेपुटी गभर्नर शिवाकोटीले भने ।