काठमाडौं, २ कार्तिक। मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फाइनलमा बिजयी खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गरे । बिहीबार दिउँसो प्रधानमन्त्री निवासको सचिवालयमा खेलकूदमन्त्री दलजित श्रीपाइलीको उपस्थितिमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्रीले देशको गौरव बढाएकोमा खेलाडीहरुलाई बधाई दिए ।
खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले प्रतिखेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको स्मरण गराउँदै प्रधानमन्त्रीले भने, ‘तपाईहरुको सम्मान र मनोबलका लागि सरकारले प्रतिखेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ । भूकम्पबाट क्षतिग्रस्त रंगशाला पूनर्निर्माणको काम अघि बढिसकेको छ, छिटै रंगशाला पूनर्निर्माण हुन्छ ।
अब त्यो रंगशाला पनि सानो भइसकेको छ, बृहत रंगशाला निर्माणका लागि सरकारले छिटै काम अगाडि बढाउनेछ ।’
सम्मान कार्यक्रममा एन्फाका कार्यबाहक अध्यक्ष मणि कुंवरले भूकम्पबाट क्षतिग्रस्त पूनर्निर्माण र खेलाडीहरुको प्रोत्साहन एवं सम्मानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।