मंसीर १, काठमाडौं । खोटाङ–ओखलढुंगा जोड्ने दुधकोशी नदीको जयरामघाट पुल निर्माणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रसरता लिनुभएको छ ।
बुधबार प्रधानमन्त्रीले पुल निर्माणसँग सम्बद्ध सरकारी निकायका अधिकारीहरुलाई सिंहदरबारमा बोलाएर पुल निर्माण ढिलो हुनुको कारणबारे चासो राख्नुभएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि पौडेल, भौतिक योजना मन्त्रालयका सचिव धनबहादुर तामाङ, पूर्वाञ्चलका क्षेत्रीय प्रशासक शिबहरि सापकोटा, सडक विभागका निर्देशक देवेन्द्र कार्की लगायतका अधिकारीहरुलाई बोलाएर प्रधानमन्त्रीले आगामी चैत्र मसान्तभित्र पुल सक्ने गरी काम गर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्रीले ठेकेदारको लापरबाहीका कारण पुल निर्माणमा ढिलाई भएको भन्ने स्थानीयबासीको गुनासो स्मरण गराउँदै समयमै काम नसके ठेकेदारलाई कार्बाहीको दायरामा ल्याउन पनि निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको चासोपछि भौतिक पूर्वाधार सचिव र सडक विभागका निर्देशकले ठेकेदारहरुलाई बोलाएर छिटो पुल निर्माणका लागि सचेत गराउने र समयमै सम्पन्न नभए कार्बाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।