काठमाडौंः सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका छन् ।
सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध पुयाएकामा कारबाही गर्न नपर्ने भए एक हप्ताभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न कार्कीविरुद्ध आदेश दिएको थियो । सोही आदेशअनुरुप निलम्बित आयुक्त कार्कीले लिखित जवाफ पेस गरेका छन् ।
कार्कीको लिखित जवाफमा विपक्षीले मनसाय झुटो भएको आरोप लगाउँदै आफू घटना भएको भनिएको दिन विदेशमा रहेको हुनाले त्यसमा आफ्नो संलग्नता नरहेको उल्लेख छ ।
‘तीन वर्षदेखि आफूसहित सपरिवार सरकारी निवसमा बसेको छु, भाडामा दिइएको घरमा म्याद तामेली गर्न किन परेको र सरकारी निवासमा गर्न किन नआएको’कार्कीले लिखित जवाफमा उल्लेख गरेका छन् । कार्कीले निवेदक अर्यालले आफूविरुद्धको उजुरी अथ्यका आधारमा भन्दा पनि अफवाह फैलाउनका लागि दिएको जिकिर गरेका छन् ।
उनले आफ्नो लिखित जवाफमा भनेका छन्- ‘उजुरीकर्ता निवेदक मप्रति पूर्णरुपमा पूर्वाग्राही भएको मेरो पदीय हैसियतको उल्लेखबाट नै प्रष्ट हुन्छ । मेरो पदीय हैसियत विपक्षीले उल्लेख गरेजस्तो नेपाल सरकारको पूर्वमुख्य सचिवमात्र नभएर संबैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिज्यूबाट नियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बहालवाला प्रमुख आयुक्त हुँ । त्यो तथ्य लुकाई मेरो पूर्वपदीय हैसियतमात्र देखाई निवेदन दिनुबाट मप्रति पूर्वाग्रही रहेको प्रमाणित हुन्छ ।’
अख्तियार प्रमुखमा कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने निर्णयको म्याद तामेली गर्दा अवरोध पुर्याएकामा कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।