Indrenionline.com

खैरो हेरोइनसहित तीन जना पक्राउ

कपिलवस्तु, ३० कार्तिक । कपिलवस्तुको बाणगङ्गा–१३ लक्ष्मणघाटबाट खैरो हेरोइन लागुऔषधसहित प्रयोगकर्ता तथा बेचबिखन गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा तथा अनुसन्धानबाट १५ दिन लगाएर इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोखरेलको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाणगङ्गा निग्लीहवा–४ का विजय पासवान, सोही स्थानका मनिराम पासवान र जगजीवन पासवान रहेका छन् । ५।७५ ग्राम खैरो हेरोइन लागुऔषधसहित उनीहरुलाई प्रहरीले पक्राउ गरी लागुऔषध मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए ।

उनीहरु लागुऔषध प्रयोग गर्नेसहित यस क्षेत्रमा बेचबिखन समेत गर्दै आएको पाइएको प्रहरीले बताएको छ । १५ दिन पहिले आफूले त्यसबारे सूचना पाएको र पक्राउ गर्ने उद्देश्यले आफ्नै नेतृत्वमा काम गरी १५ दिनपछि पक्राउ गर्न सफल भएको निरीक्षक पोखरेलले बताए ।

पछिल्लो समय लागुऔषध प्रयोगकर्ता बढेको र यसको बेचबिखन गर्ने सक्रिय भएको पाइएको हुँदा निगरानी बढाइएको उनले बताए ।