बाँके, ३० कार्तिक । मध्य तथा सुदुरपश्चिमका महिलाहरुमा प्रजनन् समस्या वढ्दै गएको छ । पुरुषको तुलनामा सूचना, आर्थिक स्रोत र परिवारको निर्णायक तहमा महिलाको पर्याप्त पहुँच नहुँदा विशेषतः ग्रामीण क्षेत्रका महिला स्वास्थ्य समस्याबाट बढी प्रभावित हुने गरेको पाइएकोछ । महिलालाई अन्य स्वास्थ्य समस्या भन्दा प्रजनन् स्वास्थ्य समस्याले बढी गाँजेको पाइएको छ ।
‘कामको बोझ, मानसिक तनाव, सरसफाइमा कमी, उमेर नपुग्दै बिहे गर्नु र असुरक्षित रुपमा सुत्केरी गराउने कारणले पनि महिलामा पाठेघर समस्या जटिल हँुदै गएको छ’—स्वास्थ्यकर्मी अङ्गतबहादुर शाहीको कथन छ ।
आङ खस्ने समस्याबाट पीडित नेपालगन्जमा उपचार गर्न आएकी तीन सन्तानकी आमा कैलाली जिल्ला अत्तरिया निवासी ३० वर्षीया भगवती सिंहको दुःखेको छ ‘काममा दिनभरि खटिनुपर्छ, समयमा खान पाइदैँन, मेलापात पनि गर्नुपर्छ, त्यसैले आफनो स्वास्थ्यको विषयमा ध्यान दिने समय नै हुँदैन।’
बाँके जिल्लाका विभिन्न गाविसमा विभिन्न समयमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामा सबैभन्दा बढी आङ खस्ने समस्याबाट पीडित देखिनुले पनि यसको उचित निदानका लागि ठोस तथा प्रभावकारी कार्यक्रम आवश्यक रहेको सरोकारवाला बताउँछन् ।
‘शिविर, स्वास्थ्यचौकी र अस्पतालमा उपचारका लागि आउने महिलामध्ये एक चौथाइ महिलाको पाठेघर जटिल अवस्थामा पुगिसकेको हुन्छ, उनीहरुको शल्यक्रिया गर्नुबाहेक अन्य उपचार सम्भव नै हुदैँन’—स्वास्थ्यकर्मी मल्लको भनाइ छ ।
कम उमेरमा विवाह गरेका, असुरक्षित रुपमा बच्चा जन्माएका, गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा आङ खस्ने समस्या बढी देखिने गरेको तथ्याङ्कले देखाएको छ ।
सरकारले यस क्षेत्रका जिल्लामा बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमार्फत जिल्ला जनस्वास्थ्य कार्यालयले गर्भवती, सुत्केरी तथा शिशुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएपनि ग्रामीण क्षेत्रमा सडक यातायातको अभाव, बजेट अपर्याप्त, स्वास्थ्यचौकीमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुनु, जनस्वास्थ्य कार्यालय र जिल्लाका अस्पतालबीच समन्वयको अभाव लगायतका कारणले सो सेवा प्रभावित समेत हुने गरेको छ ।