काठमाडौं, ३० कार्तिक । भारतले व्यवसायिक लाइसेन्स माग्दा नेपालबाट केही दिनदेखि अदुवा निर्यात फेरि ठप्प भएको छ । विषादी भेटिएको भन्दै भारतले करिब अढाइ महिनाअघि अदुवा लिन बन्द गरेको हो ।
नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ (एनजीपीटीए) का अध्यक्ष नरेन्द्रकुमार खड्काले विभिन्न बहानामा नेपाली अदुवा भारत निर्यात हुन नसकेको बताए । उनका अनुसार भारत पटनाको कमिसारले नेपालको अदुवा कारोबार गर्न भारतीय व्यवसायीलाई डिरेक्टोरेट जेनेरल अफ फरेन ट्रेड ‘डीजीएफटी’बाट ‘लाइसेन्स’ लिनुपर्ने भनेपछि अदुवाको निकासीमा ठप्प भएको हो ।
“विषादीको बहानामा भदौ १६ गतेदेखि भारतले अदुवा लिन बन्द गरेसँगै पूर्णरूपले खुल्न नपाई फेरि बन्द भएको छ,” उनले भने “पूर्वको काँकडभिट्टा नाकाबाट मात्रै आंशिक रूपमा अदुवाको निकासी हुँदै आएको भए पनि शुक्रबारदेखि भने ठप्प भएको छ ।”
संघले अदुवा निकासीका लागि सरकारले बेवास्था गरेको आरोप लगाएको छ । रोक लागेको करिब अढाइ महिना भइसक्दा पनि निर्यातका लागि सरकारले कुनै पहल नगरेको संघको ठहर छ ।