खोटाङ, २९ कार्तिक । खोटाङको बाँझेच्यानडाँडा–१ सेखुवाकी ७२ वर्षकी वृद्धालाई बोक्सीको आरोपमा कुटपिट भएको घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । बोक्सीको आरोपमा बाँझेच्यानडाँडा–१ सेखुवाकै धनगन्ज राई दम्पतीले गएको जेठ १३ गते ति वृद्धालाई बोक्सी आरोपमा कुटेका थिए ।
पीडित पक्षले न्यायकालागि दोषीविरुद्ध बोक्सी सम्बन्धी सजाय तथा ऐन कसुरमा मुद्दा चलाउन र न्याय दिलाउन माग गर्दै कात्तिक १ गते आयोगको दिक्तेलस्थित कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीपछि कात्तिक ४ गतेदेखि १० गतेसम्म आयोगको टोली घटनास्थल गइ पीडित, पीडक तथा प्रत्यक्षदर्शी, आफन्त लगायतलाई भेटेर अध्ययन गरेर फर्किएको छ । यस विषयमा आयोगले सत्यतथ्य पत्ता लगाउन थप अनुसन्धान गरिरहेको जनाएको छ ।