काठमाडौं, २९ कार्तिक । वातावरणमा प्रतिकुल असर पुगेको भन्दै प्लाष्टिक उत्पादनमा सरकारले रोक लगाएपछि करीब २ सय प्लाष्टिक उद्योग बन्द भएका छन् । सरकारले वातावरण संरक्षण ऐन, २०५३ को दफा ७ को अधिकार प्रयोग गरी २०७२ वैशाख १ गतेदेखि उपत्यकालगायत क्षेत्रमा प्लाष्टिक उत्पादन, आयात, भण्डारण तथा विक्री वितरणमा रोक लगाएको हो ।
सरकारको निर्णयबाट स्वदेशी लगानी खस्कँदो अवस्थामा पुगेको छ भने नेपाल विदेशी उत्पादनको बजारमा सीमित हुने अवस्था देखिएको छ । नेपालमा प्लाष्टिक उत्पादनमा रोक लगाए पनि त्यस्तै प्लाष्टिक झोलाहरू भारत तथा चीनबाट आयात भइरहेको शर्माले बताए । उनका अनुसार सरकारले मापदण्डविपरीतका प्लाष्टिक उद्योग बन्द गरेलगत्तै ४ हजारभन्दा बढी प्रत्यक्ष रूपमा बेरोजगार भएका छन् ।
वातावरण विभागले भने तोकिएको मापदण्डविपरीतका प्लाष्टिक झोला उत्पादनमा रोक लगाइए पनि उपत्यकालगायत ठाउँमा अझै पनि त्यस्ता अधिकांश प्लाष्टिक उद्योग सञ्चालनमा रहेको बताएको छ । विभागका अनुसार २० गुणा ३५ इञ्च आकार र ४० माइक्रोनसम्मको प्लाष्टिक उत्पादनमा रोक लगाइएको हो । सरकारले वातावरणलाई थोरै हानि पुर्याउने प्रविधिको प्रयोग गरेर उत्पादन गर्न माण्दण्ड तोके पनि प्रायः उद्योगहरूले उत्पादनको क्रममा वातावरणलाई हानि पु¥याउने गरी उत्पादन गर्ने गरेको विभागको आरोप छ ।
पछिल्लो समय सरकारले निश्चित मापदण्डविपरीत प्लाष्टिक झोला उत्पादन गर्ने उद्योग तथा कारखानाहरूको अनुगमन गरी कारबाही गर्दै आएको छ । पटकपटकको सूचना तथा चेतावनीपछि पनि उद्योगहरूले लापरबाही गरी मापदण्डविपरीतको काम गरेपछि उनीहरूलाई कारबाहीको दायरामा ल्याउन बाध्य भएको विभागको भनाइ छ ।