इन्द्रेणी संवाददाता
घोराही, १७ चैत । जिल्ला वन क्षेत्र समन्वय समिति दाङले घर बनाउदा चोरीका काठ प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ । समन्वय समितिका संयोजक स्थानिय विकास अधिकारी रमेश गौतमको अध्यक्षता बसकेको वैठकले घर बनाउदा चोरीका काठ प्रयोग नगर्न आग्रह गर्नका साथै कतै चोरीको काठले घर बनाएको पाइएमा घरधनीलाई सख्त कारबाही गर्ने निर्णय गरेको हो ।
बैठकमा जिल्ला वन अधिकृतले जिल्लाका वाढि पीडितका लागी वितरण गर्ने काठ तयारी अबस्था रहेपनि अहिले सम्म कोहि पनि सम्पर्कमा नआएको जानकारी गराउनु भयो । गाउँ विकास समितिका सचिव मार्फत वाढि पीडितहरुलाई काठ लिन कार्यालयको सम्पर्कमा आउन आग्रह गरिएको उहाँले बताउनु भयो । बैठलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी काफ्लेले वन क्षेत्रको क्षेयीकरण नहुने गरि जिल्लाको विकासका लागी वन क्षेत्र प्रयोगमा ल्याउन सुझाव दिनुभयो । उहाँले जिल्लाको वन क्षेत्र र वन पैदावार आपूर्तिमा देखिएका समस्या कानून तथा निती नियम विपरित नहुने गरि सहजीकरण मार्फत समाधान गर्न जिल्ला वन कार्यालयलाई निर्देशन दिनुभयो । बैठकमा जिल्ला वन कार्यालय, जिल्ला कृषी विकास कार्यालय, जिल्ला भू संरक्षण कार्यालय लगायत जिल्ला वन क्षेत्र समन्वय समितिका सदस्य सँघ सँस्थाहरुले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।