काठमाडौं, २६ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको स्वीकार्यता बढाएर हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीले संविधान संशोधनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै भन्नुभयो, ‘मैले मधेशवादी दलका नेताहरुको पनि विश्वास लिएको छु । प्रचण्ड मधेशको पक्षमा छैन भन्ने साथीहरु पनि मधेशको नेता तपाई नै हो भन्ने ठाउँमा आई पुग्नुभएको छ । आज पनि काठमाडौं फर्केर राजनीतिक छलफलमा केन्द्रित हुनुछ । संविधान संशोधनको मस्यौदा अन्तिम चरणमा पुगेको छ । अब संसदमा दर्ता गरेर मुलूकलाई निकास दिइनेछ ।’
जनसभामा प्रचण्डले मधेशको मतले आफू दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै मधेशी जनतालाई धन्यवाद दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘मधेशप्रतिको मेरो प्रेम घटेको छैन । राष्ट्रिय सहमति र एकताका लागि मैले गरेको प्रयासले म राष्ट्रिय एकताको पक्षमा भएको पुष्टि हुन्छ । तपाई मधेशी जनताको मतले म दोस्रोपटक निर्वाचित भएको छु । निर्वाचनको बेला गरेका प्रतिवद्धता अब कार्यान्वयन गर्नेछु ।’
सभामा प्रधानमन्त्रीले जनकपुरमा बैदेशिक रोजगार सम्बन्धि कार्यालय स्थापना गर्ने, नागरिकता, पासपोर्ट, लालपुर्जाका लागि सिरहाको मिर्चैयामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने, जनकपुर बिमानस्थलको स्तरोन्नति गर्ने, सिरहा जिल्ला अस्पतालको स्तरोन्नति गर्ने, सिरहामा बिमानस्थल स्थापना गर्ने, सडक दुर्घटनाका घाइतेहरुका लागि ट्रमा सेन्टरको स्थापना गर्ने लगायत सिरहाको विकास सम्बन्धि १३ बुंदे घोषणा गर्नुभएको छ । यसअघि प्रधानमन्त्रीले मिर्चैयामा रहेको मोहन माध्यमिक विद्यालयको आवासीय भवनको शिलान्यास गर्नुभएको थियो ।
सभामा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजयशंकर नायकले राष्ट्रिय एकताका लागि संविधान संशोधन र स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनुभयो ।