बिराटनगर, २६ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशकै सबैभन्दा जेठो उद्योग बिराटनगर जुट मिलको पूनर्सञ्चालन गरिने बताउनु भएको छ ।
निरीक्षणका क्रममा प्रधानमन्त्रीले काठमाडौंमा औषधि लिमिटेडबाट औषधि उत्पादन र हेटौडा कपडा कारखाना सञ्चालनको तयारी भइरहेको पनि जानकारी दिनुभयो । बिराटनगर जुट मिल सञ्चालनबारे गोवा भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘गोवाको ब्रिक्स सम्मेलनका बेला मैले यस मिलको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको छु । एन्टि डम्पिङ ट्याक्स नलगाउन नरेन्द्र मोदीसँग कुरा गरिएको छ । चुनौतिपूर्ण भए पनि यो मिलन सञ्चालन गरेरै छोड्नेछु ।’
अनुगमनका अवसरमा बिराटनगर जुट मिल सञ्चालक समितिका अध्यक्ष निलहरि काफ्लेले बिराटनगर जुट मिलको वर्तमान अवस्था, सरकारले गर्नुपर्ने सहयोग र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।