काठमाडौँ, २६ कार्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा विचाराधीन महाभियोग प्रस्तावमाथिको छलफल आजदेखि पुनः सुरु हुँदैछ ।
सैद्धान्तिक छलफललाई बढीमा तीन दिन निरन्तरता दिई प्रस्ताव समितिमा पठाउने तयारी छ ।
संसद् सचिवालयले शुक्रबारको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्ताव छलफलको निरन्तरतालाई राखेको छ । प्रस्तावमा छलफलअघि राष्ट्रिय महिला आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए।
कुइँकेलले भने, “अख्तियार प्रमुख कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमा यसअघि निरन्तरता दिने गरी स्थगित भएको छलफलले निरन्तरता पाउँछ । महिला आयोगको विधेयक पेस गर्ने पनि सम्भावित कार्यसूची छ । ”
कात्तिक ९ गतेबाट सुरु भएको छलफलमा सोही दिन १५ जना सांसदले प्रस्तावमाथि आफ्नो धारणा राखेका थिए। कात्तिक ९ गते नै छलफलमा भाग लिन नाम टिपाउनुभएका ३८ जनाले अझै बोल्न बाँकी छ ।