काठमाडौं, २५ कार्तिक। मुलुकका बैङ्क तथा वित्तीय संस्थासँग एक हजार र ५ सय दरका भारतीय नोट दुई करोडको हाराहारीमा रहेको केन्द्रीय बैङ्ककले बताएको छ ।
राष्ट्र बैङ्कले बुधवार नै निर्देशन जारी गरेर बैङ्क, वित्तीय संस्था एवम् मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न निर्देशन दिएको थियो । त्यस्तै भारतीय केन्द्रीय बैङ्कलाई नेपालमा रहेको भारुको व्यवस्थापनका विषयमा पत्राचार गर्ने निर्णय गरेको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु ५०० र एक हजारका नोट पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेक थिए । उनले सम्बोधनका क्रममा सर्वसाधारणले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा आफूसँग भएका उक्त दरका नोट बैङ्क तथा हुलाकमार्फत जम्मा गर्न आग्रह गरेका छन् ।