काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आशा युवा विद्यार्थीहरुसँग भएको बताउनु भएको छ । बुधबार ने.क.पा. ( माओवादी केन्द्र ) निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी ) को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘युवा भनेका समाजका उर्जाशील शक्ति हुन् । उनीहरुमा सोच्ने गतिशीलता हुन्छ । मेरो आशा तपाईहरुसँगै छ । तपाईहरु जनता, सर्वहारा वर्ग र देशको पक्षमा दृढतापूर्वक अगाडि बढ्नुहोस् ।’
सरकारले गरीबका पक्षमा काम गरिरहेको भन्दै प्रधानमन्त्रीले थप्नुभयो, ‘हामी गरीबका लागि सरकार कार्यक्रमलाई रणनीतिक महत्वको कार्यक्रमसहित देशव्यापी बनाउँदै छौं ।
युवाहरुलाई रोजगारी र नभए बेरोजगार भत्ताको तयारी गर्दैछौं, जनता पेन्सन कार्यक्रमको तयारी गर्दैछौं, लोडसेडिङ अन्त्य गर्ने, राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न उत्प्रेरित गर्ने र विकास खर्च बढाउने गरी काम गरिरहेका छौं । जनताको पक्षमा गरिएका कामहरुको सकारात्मक रुपमा सन्देश प्रवाह गर्नुहोस् ।’
कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, हितमान शाक्य लगायतले देश र जनताका पक्षमा सरकारले गरेका राम्रा कामहरुको सकारात्मक प्रचारमा कमि भएको भन्दै त्यसलाई गाउँ–गाउँसम्म सन्देश प्रवाह गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।