जाजरकोट, २४ कार्तिक । सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो जिल्लाको ऐतिहासिक तथा पुरातात्विक महत्व वोकेको जाजरकोट दरबार जीर्ण बन्दै गएको छ ।
दरबार जीर्ण भएर कुरुप देखिएपनि यस्तमा कसैको चासो छैन । गोरखाका राजा पृथ्वीनारायण शाहका मित अर्थात् जाजरकोट राज्यका छैटौँ राजा हरि शाहले १८२५ सालमा यो दरबार निर्माण गरेका थिए ।
साततले यो दरबार १९९० सालको भूकम्पपछि चार तला बनाइएको थियो । सरकारले २०१७ सालमा राजारजौटाहरु उन्मूलन गरेपछि राजा बस्न छोडेको यो दरबारका सबै महत्वपूर्ण एवम् ऐतिहासिक वस्तु अहिले हराइसकेका छन् ।