काठमाडौं, २४ कार्तिक । नेकपा एमालेले अब हुने चुनावको तयारीस्वरूप देशव्यापी रूपमा कार्यकर्ता भेला र कार्यक्रमलाई तीव्र पारेको छ । चार महिनासम्म सञ्चालन हुने अभियानमा केन्द्रबाट शीर्ष नेताहरू जिल्ला र प्रदेशमा पुगेका छन् ।
तिहारलगत्तै जनकपुरमा बृहत् सभा गरेको एमालेले मंगलबार धनगढीमा शीर्ष नेताको उपस्थितिमा अगुवा कार्यकर्ता भेला सुरु गरेको छ । जनकपुरको कार्यक्रममा केन्द्रबाट वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहित स्थायी समितिका अधिकांश नेता पुगेका थिए । धनगढीको भेलाका लागि हिजो मात्रै अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल त्यसतर्फ गएका छन् । अन्य केन्द्रीयस्तरका नेताहरू पनि जिल्ला र प्रदेशमा परिचालित छन् ।