Indrenionline.com

लोकमानलाई सात दिनभित्र उपस्थित हुन सर्वाेच्चको आदेश

काठमाडौं, २३ कार्तिक । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको म्याद तामेली गर्न अवरोध गर्नुको कारणसहित सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले लोकमानलाई सात दिनभित्र म्याद तामेली गरेको विषयमा कारबाही गर्नुनपर्ने कारणसहित आफै अदालतमा उपस्थित हुन आदेश दिएको हो । अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चको म्याद तामेलीमा अवरोध पुर्याएको दाबीसहित लोकमान उनका ज्वाँइ प्रवल थापा, छिमेकी प्रमोद कार्की र प्रहरी नायव निरीक्षक नहकुल गौतमलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

रिटको पक्षबाट आज मंगलबार अधिवक्ताहरु टीकाराम भट्टराई, गोविन्द बन्दी लगायत १० जनाले बहस गरेपछि सर्वोच्चको आदेश आएको हो । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेलीको पत्र टाँस्न गएका तामेलदारलाई लोकमानका आफन्त र छिमेकीले अवरोध गरेका थिए ।