काठमाडौं, २३ कार्तिक । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयनका प्रगतिबारे विभिन्न मन्त्रालयका सचिवसहित सम्बद्ध विभागीय प्रमुखसँग छलफल प्रारम्भ गरेका छन् । विकास खर्चको समयावधि तोकेर सो सम्बन्धमा यथार्थ जानकारी लिने क्रममा अर्थमन्त्री महराले ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसहित विभाग तथा आयोजना प्रमुखसँग आज जानकारी लिएका हुन् ।
प्रथम चौमासिक सकिन एक साता बाँकी रहँदा ऊर्जा मन्त्रालयलाई छुट्याइएको कुल विकास खर्चको १.३५ प्रतिशत मात्रै खर्च भएको बताइएको छ । छलफलका क्रममा अर्थमन्त्री महराले ऊर्जा मन्त्रालयका पदाधिकारीसँग भने – ‘एक करोड बजेट छुट्याएकामा रू. एक लाख पनि खर्च नहुने अवस्था आउनु विडम्बना हो ।’ उनले विद्युत उत्पादन, वितरण र प्रसारण लाइन निर्माणमा विशेष जोड दिन निर्देशन दिएको सल्लाहकार रेग्मीले बताए ।