Indrenionline.com

पेरिस डाँडामा पूर्व लडाकुको धर्ना

काठमाडौं– पार्टी नेतृत्वले बेवास्ता गरेको भन्दै माओवादीका बर्हिगमित लडाकूहरुले माओवादी केन्द्रको पार्टी मुख्यालय घेरेका छन् ।माओवादी सेना समायोजनका क्रममा आफूहरु अयोग्य भनेर समायोजन हुनबाट रोकिएपछि आफुहरु न घरको न पार्टीको भएको भन्दै उनीहरुले सोमबार माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडा घेरेका हुन् ।

अहिले पनि तीन सयको संख्यामा पुगेका अयोग्य लडाकूहरुले माओवादी केन्द्रको कार्यालयको मुल प्रवेशद्धारमा भित्रबाट ताला लगाएर घेरेका छन् । १० वर्षे सशस्त्र युद्धका क्रममा आफूहरुले पार्टीलाई पूर्णकालीन कार्यकर्ताको रुपमा काम गरेपनि सेना समायोजनमा नपरेपछि सरकारले र पार्टीले कुनै वास्ता नगरकोले आफुहरुले दबाब दिन पार्टीकार्यालय घेर्नु परेको बताए ।

उनीहरुले युद्धका क्रममा रहेका घाइते अपांग र योग्य लडाहरुलाई राज्यले व्यवस्थापन गरेपनि आफूहरुको भविष्यमाथि खेलवाड गरेको आरोप लगाए । माओवादी आन्दोलनमा हिडेकाले जातिय छुवाछुतको विरोधमा अन्तरजातीय विवाह गरेकाले समाजले पनि नस्वीकार्दा घरजम गर्न पनि समस्या भएको गुनासो गरेका छन् ।

अयोग्य लडाकूहरुले आफूहरुले पटक पटक पार्टी नेतृत्व र हरेक सरकारलाई समस्याबारे जानकारी गराएपनि आफूहरुले आस्वासन मात्र पाएको गुनासो गरे । सेना समायोजनका क्रममा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको प्रमाणिकरणका क्रममा उमेर नपुगेको भन्दै चरा हजार नौ जना माओवादी लडाकू अयोग्य भएका थिए ।