काठमाडौं, २२ कार्तिक । परराष्ट्रमन्त्री डा। प्रकाशरण महतले सार्क सदस्य राष्ट्रहरुबीच दोहोरो कर प्रावधान तथा करसम्बन्धी पारस्परिक सहयोग कार्यान्वयन गर्दै लगानी अनुकूल वातावरण तयार गर्नुपर्ने बताएका छन् ।
महतले दक्षिण एसियाको सुदृढ आर्थिक एकीकरणका लागि आर्थिक वृद्धिका साथै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए । परराष्ट्रमन्त्री महतले दक्षिण एसियामा भू–परिवेष्टित मुलुकमा सीमित रेल पूर्वाधारका कारण वस्तु तथा सेवाको ढुवानीमा कठिनाइ भएको वास्तविकता अघि सार्दैै क्षेत्रीय यातायात करिडोरको प्रवद्र्धन, दक्षिण एसियाली रेल सञ्जाल निर्माण, सीमापार यातायात परियोजनामा लगानी तथा व्यापारिक नीति नियममा एकरुपता कायम गर्नुपर्ने बताए ।
दक्षिण एसियाली मुलुकमा ऊर्जाको बढ्दो मागका साथै यस क्षेत्रमा सहकार्यका प्रचुर सम्भावना रहेको उनले बताए । क्षेत्रीय विद्युत् ग्रिड, ऊर्जा व्यापार तथा सहजीकरणका लागि ऐन नियममा एकरुपता, ऊर्जामा लगानी र वितरण प्रणालीको विकासका निम्ति ठोस योजना तर्जुमा गर्नुपर्नेमा महतले जोड दिए ।