Indrenionline.com

त्रिपक्षीय सहकार्य: सम्भावना छ तर गृहकार्य छैन

काठमाडौँ, २२ कात्तिक ।  ब्रिक्स–बिमस्टेक सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सामूहिक भेट चर्चित बन्यो ।  भेटवार्ता ‘औपचारिक वा संयोग’ भन्नेमै विवाद रहेका बेला प्रधानमन्त्री प्रचण्डले भेटलाई ‘ऐतिहासिक संयोग’ भन्नुभयो ।

संयोग भए पनि प्रचण्डले उक्त भेटलाई त्रिपक्षीय सहकार्यको कोसेढुङ्गा बताउनुभयो ।  गोवाको उक्त भेटपछि यसै साता भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भेटमा पनि प्रधानमन्त्रीले नेपाल, भारत र चीनबीच त्रिपक्षीय सहकार्यमा जोड दिनुभयो ।  पहिलोपटक प्रधानमन्त्री हुँदादेखि दुई छिमेकीबीच ‘डाइनामिक ब्रिज’ बनेर आर्थिक विकासको लाभ लिनुपर्ने बताउँदै आउनुभएका प्रधानमन्त्री प्रचण्डले दोस्रो कार्यकालमा पनि यसलाई अन्तर्राष्ट्रिय र घरेलु ‘फोरम’मा एजेन्डा बनाउँदै आउनुभएको छ ।

तीव्र आर्थिक विकासको बाटोमा अग्रसर छिमेकी भारत र चीनबीच ‘ब्रिज’ बन्ने सपना नेपालको नेतृत्वले जसरी देखेको छ ।  त्यसको मोडालिटी र एजेन्डामा अन्य छिमेकीको चासो कम छ ।  ब्रिक्स सम्मेलनपछि चीनले त्रिपक्षीय साझेदारीबारे मुख खोले पनि भारतको रुचि स्पष्ट छैन ।   ब्रिक्स सम्मेलनलगत्तै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुअ चुनयिङले आर्थिक र सामाजिक विकासका साझा एजेन्डामा सहकार्यका लागि चीन तयार रहेको बताउनुभएको थियो ।

प्रवक्ता हुअको भनाइ थियो, “तीन देशको सहकार्य आवश्यक छ ।  सहयकार्यले तीन देशको आर्थिक र सामाजिक विकासलाई मात्र प्रवद्र्धन गर्दैन, क्षेत्रीय स्थायित्व र विकासमा समेत योगदान पु¥याउँछ ।  हामी भारत र नेपालसँग त्रिपक्षीय सहकार्य कसरी भन्नेबारे पहिल्याउन चाहन्छौँ, यसले तीन देशको साझा विकास अगाडि बढाउन सकियोस् । ”गोवा सम्मेलनका क्रममा तीन देशका नेतृत्वकर्ता बीचको छलफललाई पनि उसले ‘संयोग’ भनिसकेको छ ।  यस्तै प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थानअघि परराष्ट्र विज्ञहरूसँग लिनुभएको परामर्शमा पनि त्रिपक्षीय सहकार्यका लागि भारतलाई मनाउन नै मुख्य सुझाव दिएका थिए ।
पूर्व परराष्ट्रमन्त्री तथा भारतका लागि पूर्व राजदूत भेषबहादुर थापाले त्रिपक्षीय सहकार्यको सम्भावना रहे पनि एजेन्डा र क्षेत्रबारे गृहकार्य नभएको बताउनुभयो ।  थापाले तीन देशका राष्ट्र÷सरकार प्रमुखबीच चर्चा भएको विषयलाई फलो गर्न निश्चित संयन्त्रको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भन्न्ुभयो, “राष्ट्र–राष्ट्रका प्रतिनिधिबीचको भेटघाट र कुराकानीले सम्भावनाको ढोका खोलेको छ तर उद्देश्य, लक्ष्य, क्षेत्र र एजेन्डा के हुन् स्पष्ट छैनन् ।  सहकार्यको आशा गर्ने ठाउँ छ तर निश्चित भइसकेको छैन ।  राष्ट्रप्रमुखका विचारलाई फलोअप गर्न संयन्त्रको खाँचो रहन्छ । ”
प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार ऋषि अधिकारीले त्रिपक्षीय सहकार्यबारे सैद्धान्तिक रूपमा चीन तयार भए पनि भारतको स्पष्ट धारणा आइनसकेको बताउनुभयो ।  अधिकारीले दुई छिमेकीको आर्थिक वृद्धिबाट लाभ लिएर नेपाल अगाडि बढ्न प्रधानमन्त्रीले त्रिपक्षीय सहकार्यमा जोड दिँदै आउनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्रिपक्षीय साझेदारीको विषयमा प्रधानमन्त्रीले विशेष जोड दिँदै आउनुभएको छ ।  गोवा सम्मेलनपछि चीनले त्रिपक्षीय साझेदारीमा सैद्धान्तिक सहमति जनाइसकेको छ ।  भारतले समझदारीको विषयलाई स्वीकार वा अस्वीकार कुनै प्रतिक्रिया दिएको छैन तर प्रस्तावप्रति भारत सकारात्मक भने छ । ”

ब्रिक्स सम्मेलनकै दौरान भएको त्रिपक्षीय छलफलपछि नेपालले सहकार्यमा विशेष जोड दिँदै आए पनि भारतको प्रतिक्रिया आएको छैन ।  भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले त्रिपक्षीय सहकार्यमा जोड दिनुभए पनि मुखर्जीको धारणा द्विपक्षीय सहकार्यमा नै देखिएको पूर्व परराष्ट्रमन्त्री थापाको बुझाइ छ ।  “तत्काललाई त्रिपक्षीय सहकार्य टाढै देखिन्छ ।  के कुरामा सहकार्य भन्नेमा पनि क्लियर हुनुपर्छ ।  भारतीय राष्ट्रपति प्रणव मुखर्जीको हालैको भ्रमणले पनि यस्तै सङ्केत गरेको छ । ”
त्रिपक्षीय सहकार्यबारे गत महिना काठमाडौँमा आयोजित कार्यक्रममा चिनियाँ विज्ञहरूले तीन देशबीचमा विशेष गरी ‘कनेक्टिभिटी’को सम्भावना रहेको बताएका थिए ।  दुई छिमेकीको आर्थिक विकासको फड्कोका कारण सामाजिक आर्थिक विकासमा नेपालले फाइदा लिनसक्ने आधार सहकार्यबाट बन्ने धारणा विज्ञहरूको छ ।  पूर्वाधारका क्षेत्रमा सहकार्यको सम्भावना उच्च रहेको उनीहरूको बुझाइ छ ।  तर, सहकार्यका लागि ठूला छिमेकी तयार नभएसम्म नेपालको प्रस्तावको अर्थ भने गौण रहनेछ ।