जनकपुर, २० कार्तिक महोत्तरीको बर्दिबास नगरपालिका-८ किसाननगरकी उशादेवी महतोको शव धनुषाको लक्ष्मीनिवास गाविस-७ डालाखाडी गाउँ स्थित बडहडी खोला किनारको खेतमा भेटिएको छ ।
उशाका भाइ महोत्तरी पशुपतिनगर–४ का सुरेन्द्र महतोले आफ्नी दिदीको हत्या भएको दावी गर्नुभयो । सुरेन्द्रले आफ्नो भिनाजु वैदेशिक रोजगारीमा रहेको र भिनाजुको कान्छो भाइ विजय महतोले दिदीलाई विभिन्न बहानामा यातना र धाकधम्की दिँदै आएको बताउनुभयो । उहाँका अनुसार देवर विजयले अनैतिक सम्बन्ध गाँस्न उशालाई पटक पटक फोन गर्दा र पत्र लेख्दा केहीदिन अघि मात्र समाजको रोहबारमा फोन र पत्र नलेख्न कागज गराइएको थियो । त्यसको कारणले पनि विजयले यातना र धाकधम्की दिँदै आएको र सोहि कारणले आफ्नी दिदीको हत्या भएको भाइ सुरेन्द्रले दावी गर्नुभयो ।
महोत्तरी पशुपतिनगर–४ का चेतनारायण महतोका छोरी र बर्दिबास नगरपालिका–८ का लक्ष्मी महतोका बुहारी थिइन् । घटना पश्चात देवर विजय फरार भएका छन् । उशाकी १० वर्ष र ८ वर्षका दुई छोरा छन् । शवलाई शनिबार पोष्टमार्टम पश्चात परिवारजनको जिम्मा लागइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।