
सन्तोषकुमार गुप्ता, देउखुरी १९ कात्तिक । लालमटियाको एक बिद्यालयले बर्षेनी देउसी भैलोबाट संकलनमा भएको रकम बिद्यालयको काममा खर्चदै आएको छ । दाङको लालमटिया—८ नयाँबस्ती श्रीचौर मसुरियामा रहेको नवज्योति निम्न माध्यमिक विद्यालयले यस बर्षको देउसी भैलोबाट संकलन गरेको रकम बिद्यालय भवन मर्मतमा खर्चने भएको छ ।
गत बर्षको तिहारमा खेलिएको देउसी भैलोबाट संकलन भएको रकम शिक्षकको तलब तथा भवन निर्माणका लागि भैलो सञ्चालन गरिएको थियो भने यस बर्ष विद्यालयको अधुरो भवन निर्माण, शिक्षकको तलब र शैक्षिक भम्रणको उद्देश्य बनाएर भैलो सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दलबहादुर घर्तीमगरले जानकारी दिए । यस बर्ष बिद्यालयले शिक्षक शिक्षिका, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघका पद्धाधिकारी, सल्लाहकार र अभिभावकहरुको सक्रियतामा शैक्षिक सहयागार्थ देउसीभैलो सञ्चालन गरिएको छ ।
यस बर्षको भैलोबाट संकलन भएको ७० प्रतिशत रकम विद्यालयको भवन निर्माण, २० प्रतिशत निजि स्रोतका शिक्षक शिक्षिकाहरुको तलबभत्ता र १० प्रतिशत रकम शैक्षिक अवलोकन भ्रमण तथा उत्कृष्ट दान दिने दातालाई सम्मान गरिने अध्यक्ष घर्तीले बताए ।
विद्यालयको आर्थिक अवस्था निकै कमजोर हुनुका साथै प्रयाप्त कक्षा कोठा नहँुदा विद्यार्थीहरुलाई साँघुरो कोठामा कोचिएर पढ्नु पर्ने बाध्यता रहेको छ । त्यस्तै उक्त बिद्यालयमा लामो समय देखी शिक्षकहरुको तलब दिन नसकिएको अबसमा देउसी भैलो सहयोगी बनेको अध्यक्ष घर्तीले बताए । उनले भने ‘ लामो समय देखि शिक्षकहरुलाई तलब दिन नसकिएको अवस्थामा देउसीभैलोलाई नै विद्यालयको आयस्रोत बनाएर गत बर्ष जस्तै यस बर्ष पनि शैक्षिक पुर्वधार निर्माण सहयोगार्थ देउसीभैलो सञ्चालन गरिएको छ । ’
कक्षाकोठाको समस्या र शिक्षक दरबन्दीकालागि जिल्ला शिक्षा कार्यालयमा पटक—पटक आग्रंह गर्दा पनि कुनै सुनुवाई नभएको घर्तीले गुनासो गरे । भैलो कात्र्तिकको २० गते सम्म विद्यालयको सेवाक्षेत्र भित्रका अभिभावकहरुको घरदैलोमा सञ्चालन गरिएको विद्यालयकी प्रधानध्यापक माया खनालले जानकारी दिए । देउसीभैलो कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दलबहादुर घर्ती सहित सम्पूर्ण पद्धाधिकारी, शिक्षक अभिभावक संघका संयोजक जमुना घर्ती सहित सम्पूर्ण पद्धाधिकारी, प्रधानध्यापक माया खनाल सहित सहित सम्पूर्ण शिक्षक शिक्षिका, सल्लाहकार र विद्यार्थीहरु गरी एक सय बढीको सहभागिता रहेको थियो ।