काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।
उनले नेपाली जनता राष्ट्रपति मुखर्जीलाई असल मित्र र राष्ट्रको सेवामा पाँच दशकदेखि समर्पित दक्षिण एसियाकै वरिष्ठ राजनेताका रुपमा उच्च सम्मान गरेकाे बतार्इन । “सौहार्द्रता, सद्भावना, समानता र पारस्परिक सम्मानका आधारमा नेपाल र भारतबीच युगौँ पुरानो सम्बन्ध विद्यमान छ । यो निकटता बलियो सामाजिक सांस्कृतिक सूत्र र जनस्तरको सम्बन्धबाट परिपोषित छ”–राष्ट्रपति भण्डारीले भनिन् ।
उनले नेपालको विकास अभियानमा भारतले पु¥याएको सहयोगको सराहना गर्दै विगत सात दशकमा भारतले अनेक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको परिप्रेक्ष्यमा द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्न हामी इच्छुक भएकाे बतार्इन् ।
राष्ट्रपति भण्डारीले अठार महिना अगाडि गएको विनाशकारी भूकम्पपश्चात राहत र खोजी कार्य तथा पुनर्निर्माणका लागि प्राप्त सहयोगका निमित्त भारत सरकार तथा जनताप्रति धन्यवाद व्यक्त गरिन् । “गतवर्ष जारी भएको संविधानको उद्देश्य हालैका वर्षमा हामीले हासिल गरेका लोकतान्त्रिक उपलब्धिको रक्षा र सुदृढीकरण गर्नु हो । अबको हाम्रो राष्ट्रिय प्राथमिकतामा मुलुकको समृद्धि प्राप्तिका लागि संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, सामाजिक आर्थिक रुपान्तरणमा जोड दिनु रहेको छ”–उनले भनिन् ।
राष्ट्रपति भण्डारीले मानव र भौतिक स्रोतको प्रचुरताका बाबजुद विश्वका गरिब जनताको सबैभन्दा ठूलो हिस्सा दक्षिण एसियामा रहनु बिडम्बनाको विषय भएकाे बतार्इन । “यस क्षेत्रको प्रमुख आवश्यकता गरिबी निवारण भएकाले शान्ति, स्थायित्व र विकास, उपलब्ध साधन, स्रोतको सदुपयोग र रोजगारीका अवसर सिर्जनालाई प्राथमिकता दिइनु पर्दछ । राष्ट्रहरुबीच आपसी समझदारी र विश्वासको वातावरण सिर्जना गर्नसके यस क्षेत्रको दु्रततर विकासमा ठोस योगदान पुग्नेछ” उनले भनिन् ।
रातोपाटी बाट