काठमाडौं , १८ कार्तिक । राजधानीको पुरानो बसपार्कमा ‘काठमाडौं भ्यु टवर’ बनाउने योजना अलपत्र परेको छ । स्थानीयवासी र राजनीतिक दलको अवरोधका कारण भ्यु टावर निर्माण प्रभावित बनेको हो ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ६ का सांसद भीमसेनदास प्रधानको नेतृत्वमा बसपार्कमा भ्यू टावर बन्न नदिन राजनीतिक लबिङ सुरु भएको आजको नयाँ पत्रिकामा समाचार छ ।
सांसद प्रधानले भ्यू टावर निर्माण रोक्न काठमाडौं निर्वाचन क्षेत्रका सबै सांसदसँग छलफल चलाइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सांसद प्रधानकै नेतृत्वमा एक डेलिगेसनसमेत गइसकेको छ । उनीहरूले सहरी विकासमन्त्री अर्जुननरसिंह केसीसँग पनि भेट गरेर भ्यू टावर निर्माणको काम रोक्नुपर्ने माग गरेका छन् ।
काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई भेटेरै उनीहरूले भ्यू टावर निर्माण तत्काल रोक्न ज्ञापनपत्र बुझाएका छन् ।
प्रधानसहितको टोलीले भ्यू टावर निर्माण रोक्न ज्ञापनपत्र बुझाएको महानगरपालिकाका कार्यकारी अधिकृत तामाङले बताए । ‘उहाँहरूले बसपार्कलाई अहिलेकै अवस्थामा छोड्न भन्नुभएको छ । तर, उहाँहरूले किन यस्तो माग गर्नुभएको हो, बुझ्न सकिएको छैन,’ तामाङले भने । अनलाइनखबरबाट