भारत—पाकिस्तान सीमावर्ती क्षेत्र रजौरीमा सुरक्षाका लागि खटिएका गोर्खा राइफलमा कार्यरत राइफलम्यान विमल तामाङको पाकिस्तानी फौजको आक्रमणमा मृत्यु भएको हो। भारतीय सेनाका प्रवक्ता कर्नेल मनिष मेहेताले तामाङको मृत्यु पुष्टि गर्दै पाकिस्तानी पक्षले बिना सूचना फायरिङ खोल्दा घटना भएको बताए। ‘पाकिस्तानी क्षेत्रबाट कुनै सूचना नदिई फायरिङ भयो। जवाफमा हाम्रो पक्षबाट पनि पाकिस्तानी फौजमाथि प्रभावकारी जवाफी आक्रमण भयो’, उनले भने।
मृतक तामाङ सुनसरीको धरान निवासी हुन्। अाफ्नी अामासँग बस्दै अाएका २० वर्षे उनी भारतीय गोर्खा रेजिमेन्टमा भर्ती भएको धेरै भएको छैन।
सन् १९४७ मा नेपाल—वेलायत—भारतबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालीहरु भारतीय सेनामा कार्यरत छन्। ७ गोर्खा रेजिमेन्टभित्र ४० बटालियन छन्। करिब ४० हजार नेपाली नागरिक भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत छन्। उनीहरुलाई भारतले सबैभन्दा जोखिमपूर्ण पाकिस्तानसँगको युद्धमा परिचालन गर्दै आएको छ। कस्मिरको पहाडी भूभागमा लड्न भारतले गोर्खा रेजिमेन्ट परिचालन गरेको यो पहिलो पटक होइन।
