काठमाडौँ- पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष पूजाको तयारी हुँदैछ । यही कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएअनुसार तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । “राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपति, पूर्वराजाले जस्तै पशुपतिनाथ मन्दिरको गर्भगृहमा दक्षिपट्टि बसी अभिषेकसहितको विशेष पूजा गर्नुहुनेछ, मूलभट्ट गणेश भट्टले विशेष पूजा गराउनुहुनेछ, २२ जना नेपाली वैदिक पण्डितले वैदिक रुद्राभिषेक गर्नुहुनेछ”–उनले भने ।
पशुपतिमा विशेष पूजाको तयारीस्वरुप प्रवेशद्वारको निर्माण, सरसफाइ लगायत काम भइरहेको छ । विशेष पूजालाई ध्यानमा राखी पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । मित्र राष्ट्र भारतका राष्ट्र«ाध्यक्षको विशेष पूजालाई अविस्मरणीय बनाउने गरी तयारी भइरहेको सदस्यसचिव डा टण्डनको भनाइ थियो ।
भारतीय राष्ट्रध्यक्षले १८ वर्षपछि पशुपति दर्शन गर्न लागेकाे हाे। यसअघि पूर्वराष्ट्र«पति के आर नारायणनले पशुपतिमा पूजा गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विसं २०७१ साउनमा पनि पशुपतिमा विशेष पूजा गरेका थिए ।
पशुपतिनाथ मन्दिरलाई द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने भएकाले भारत एवम् विश्वभरका हिन्दू धर्मावलम्बीको विशेष आकर्षणको केन्द्र बन्ने गरेको छ । विसं २०६६ मा भेटीघाटी पारदर्शी एवम् पूजा व्यवस्थासम्बन्धी नियमावली सार्वजनिक भएपछि पशुपतिमा गरिने पूजाको रकम तोकिएको र विशिष्ट व्यक्तिको विशेष पूजामा तत्कालै रसिद काटिने परम्परा छ । रासस
रातोपाटीबाट