काठमाडौं, १५ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश नै ठप्प भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि गुडिरहेको बस रोकिएर ठप्प भएजस्तै देशको सबै काम ठप्प भएको ओलीले बताए ।
आफ्नो नेतृत्वको सरकारले घोषणा गरेका विकासका कार्यक्रम काम फेरि सुरु हुने ओलीको भनाइ छ । युवाले देशलाई समृद्ध बनाउन सक्छौं भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
नेपालको एकता, राष्ट्रियता र अखण्डतालाई कसैले तलमाथि गर्न नसक्ने बताउँदै ओलीले अझै पनि नेपालमा जातजाति र भाषाभाषीलाई उचालेर द्वन्द्व सिर्जना गराउने तत्व सक्रिय रहेकाले त्यसतर्फ सबै सचेत हुनुपर्ने धारणा राखे ।
