
क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलद्वारा लिखित ‘झुल्कदो घाम’ कथा संग्रहको शनिबार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष वैद्यले परिवर्तनका लागि राजनीतिकर्मी र साहित्यिक–साँस्कृतिक फाँटमा कार्यरत सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाली साहित्य क्षेत्रले राणा शासनकाल देखि नै परिवर्तन र रुपान्तरणको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै वैद्यले सीपी गजुरेलद्वारा लिखित ‘झुल्कदो घाम’ले प्रगतिशील रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
देशमा अहिले राष्ट्रिय स्वाधिनता र जनजीविका सवाल जटिल बन्दै गइरहेको उल्लेख गर्दै अध्यक्ष वैद्यले भूकम्प पीडितका लागि सरकारले कुनै काम नगरिरहेका बेला कलाकार धुर्मुस–सुन्तलीले बस्ती निर्माण गर्ने कार्यले सरकारमाथि गतिलो व्यंग्य प्रहार भएको बताउनुभयो ।
नेता गजुरेल र आफू करिब ३०/३१ सालदेखि सँगै राजनीतिमा क्रियाशील रहँदै आएको र त्यसबीचमा भारतीय जेलमा पनि एउटै समयमा बिताएको स्मरण गर्दै उनले भारतीय जेलमा रहँदा भोगेका पीडालाई गजुरेलले कलात्मक ढंगले कथामा संग्रहित गरेको बताउनुभयो ।