काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वत जिल्लाको विकास र स्थानीय समस्यालाई सरकारले ओझेलमा पर्न नदिने बताएका छन् ।
नयाँ सरकार गरीबको पक्षमा क्रियाशील रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘सरकारलाई गरीबको पक्षमा फर्काउन खोजिएको छ । गरीबका लागि सरकार कार्यक्रम यत्तिकै भनिएको होइन । हामी गरीबको पक्षमा राजनीति गरेर आएका हौं । विगतमा आफ्नो वर्गको सेवा
गर्ने कुरामा हामी अलिकति चुकेका छौं । यसपटक वास्तविक गरीबहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमूलक कामका लागि विशेष अभियान सञ्चालन गरिनेछ । यो अभियान गरीबहरुको सेवा गर्ने दीर्घकालीन र रणनीतिक योजना हुनेछ । गाउँ–गाउँमा बजेट र गरीबमूखी कार्यक्रम लगेर जनताको सेवा गरिनेछ ।’
प्रधानमन्त्रीले सरकार निर्वाचनमार्फत् देशमा संविधान कार्यान्वयन गर्ने गृहकार्यमा लागिरहेको जानकारी दिए । प्रधानमन्त्रीले भने, ‘स्थानीय तह पूनर्संरचना आयोगले छिटै प्रतिवेदन दिँदैछ । हामी संविधान संशोधनको अन्तिम तयारीमा छौं । विवादहरु घटेका छन्, राजनीतिक समझदारीको वातावरण सकारात्मक बन्दैछ । संविधान संशोधनपछि सरकारले चुनावको मिति घोषणा गर्नेछ । संविधान कार्यान्वयनको दायित्वप्रति सरकार पूर्ण इमान्दार र क्रियाशील छ ।’
भेटमा माओवादी केन्द्र पर्वतका नेत्रनाथ अधिकारी, कृष्ण पराजुली, दीपक आचार्य, मनरुपा सुवेदी, ढाकाराम गौतम लगायतका नेताहरुले पर्वतको विकासलाई उच्च प्राथमिकतामा राख्न, शहिद परिवारहरुलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्न, विकास निर्माणलाई दुरदराजसम्म लैजाने व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
हुम्लाका प्रतिनिधिहरुसँगको भेट
यसैगरी देशको विकट क्षेत्र कर्णालीभित्रको अति बिकट हुम्ला जिल्लाको समग्र विकास र जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सरकारले विशेष जोड दिएको बताए ।
पूर्वसभासद् कर्णजित बुढाथोकीसहित हुम्लाका प्रतिनिधि मण्डलले जिल्लाको विकासलाई प्राथमिकता राखेर काम गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।