काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका ७५ वटै जिल्लामा कम्तिमा एउटा सरकारी कलेज खोल्ने गरी सरकारले तयारी गरिरहेको बताउनु भएको छ ।
भेटमा कृषि शिक्षाको महत्वबारे चर्चा गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘कृषि शिक्षामा लगानी नगरी आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सकिँदैन । आज मात्रै मैले सिंहदरबारमा सचिव लगायतको टोलीलाई बोलाएर देशभर कृषि क्याम्पस स्थापना गर्न सकिने सम्भावनाको अध्ययन गर्न भनेको छु । कञ्चनपुरमा कृषि क्याम्पस स्थापनाका लागि तपाईहरुले खेलेको भूमिकाले सरकारको सोंचलाई पनि सहयोग गरेको छ । भोलि नै म अर्थ, शिक्षा, शहरी विकास लगायतका मन्त्रालयसँग छलफल गरी कृषि क्याम्पस स्थापनाको प्रक्रिया अगाडि बढाउँछु । मलाई आशा छ, छिटै प्रक्रिया अगाडि बढाएर क्याम्पसको शिलान्यास गर्ने अवसर जुट्नेछ ।’
भेटमा प्रतिनिधि मण्डलले सुदुरपश्चिमको समग्र विकासका लागि कृषि क्याम्पस अत्यावश्यक रहेको भन्दै कञ्चनपुरको पूनर्बासमा राष्ट्रिय आवास कम्पनिको नाममा रहेको ६५ बिघा जमिन कृषि क्याम्पसका नाममा उपलब्ध हुने वातावरण बनाइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
प्रतिनिधि मण्डलमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता लेखराज भट्ट, पूर्वसभासद् टेकेन्द्रप्रसाद भट्ट, माओवादी केन्द्रकी नेतृ बिना मगर, सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. भुषण श्रेष्ठ, कृषि क्याम्पस स्थापनार्थ तदर्थ समितिका संयोजक रामचन्द्र नेपाल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । भेटका अवसरमा माओवादी केन्द्रका नेता एवं कृषिमन्त्री गौरीशंकर चौधरीले कृषि क्याम्पस कञ्चनपुरको आवश्यकता रहेको भन्दै त्यसका लागि सबै ठाउँबाट मिलेर पहल गर्नुपर्ने बताउनुभयो ।