काठमाडौं, ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं, ललितपुर र भक्तपुरको विकास एवं प्रशासन सञ्चालनमा एकीकृत र समन्वयात्मक काम गर्न निर्देशन दिनुभएको छ ।
बैठकमा प्रधानमन्त्रीले गैरकानुनी राज्यले कानुनी राज्य कमजोर बनाएको भन्दै त्यसलाई चिर्न नयाँ संकल्प जरुरी भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘म यसो विचार गर्छु, हामो कानुनी राज्यमाथि गैरकानुनी राज्यको दवाव छ, इमान्दारहरुमाथि तरबार झुण्डिएको महशुस हुन्छ । केही काम गर्न खोज्यो कि विभिन्न खालका अवरोध र दवाव आउँछ । तर, हामीले देशलाई केही दिने संकल्प गर्नैपर्छ । त्यसका लागि दृढ संकल्पका साथ कानुनी राज्य बलियो बनाउन लागौं । सरकार त्यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्था गर्न तयार छ । हामीले देशलाई साक्षी राखेर केही परिणाम निकालौं ।’
बैठकमा प्रधानमन्त्रीले उपत्यकाको ट्राफिक व्यवस्था सहज बनाउन, सडकमा खाल्डाखुल्डी नराख्न, विद्युत्, खानेपानी, सडक लगायतका पूर्वाधार निर्माणमा समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । बैठकमा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक, स्थानीय विकास मन्त्री हितराज पाण्डे, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा अंगका अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।