काठमाडौँ, ६ कार्तिक । आर्थिक मन्दीका कारण साउदी अरबका कम्पनीमा कार्यरत नेपाली कामदारहरु दैनिक समस्यामा पर्दै गएका छन् ।आर्थिक मन्दीका कारण गएको असारदेखि साउदीमा कार्यरत नेपाली कामदार समस्या पर्ने क्रम उल्लेख्य रुपमा वृद्धि हुँदै गएको ्त्यहाँ स्थित प्रवासी नेपाली समन्वय समितिले जनाएको छ ।
सुरक्षित आप्रवास परियोजना (सामी) अन्तर्गत संस्थाले १८ जिल्लाका सूचना केन्द्र र समितिको केन्द्रीय कार्यालय मार्फत पछिल्लो नौ महिनामा साउदी अरब सम्बद्ध ३०१ निवेदन परेको समितिका परियोजना संयोजक कृष्णशोभा सुवालले जानकारी दिए । तीमध्ये मृत्यु भएको ७३, भने अनुसारको काम र तलब नपाएको ५२, तलब नपाएको ३८, स्वास्थ्य समस्या ३६, कारागारसम्बन्धी २०, सम्पर्कविहीन १४, बेचबिखन चार लगायत निवेदन परेका छन् ।
साउदीमा आवश्यकतानुसार दूतावासमा कर्मचारीको अभाव, उद्धारका लागि साउदी कम्पनीले सहयोग तथा समन्वय नगर्ने, दूतावास र रोजगार संस्थाले एकार्कालाई देखाएर समस्याबाट पन्छिन खोज्ने गरेको समितिले जनाएको छ । समितिका अध्यक्ष कुलप्रसाद कार्कीले साउदीमा आर्थिक मन्दी यथावत् रहे यसले विकराल रुप लिन सक्ने भएकाले सरकारले बेलैमा त्यसका लागि आवश्यक तयारी गर्नुपर्ने बताए ।
नेपाल सरकारले साउदी अरबमा करिब तीन लाख नेपाली रहेको बताए पनि त्यहाँ करिब पाँच लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।