वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईलाई मह सञ्चारले निर्माण गर्न लागेको नयाँ फिल्म निर्देशनको जिम्मा दिने योजना रहेको बताएका छन् । ‘जात्रा’ फिल्मको लागि आफ्नै शब्द रहेको पैसा सम्बन्धि गीत रेकर्ड गर्ने क्रममा उनले यस्तो बताएका हुन् । गीत केहि दिनमा नै सार्वजनिक हुँदैछ । ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईसँग मह सञ्चारले १२ वर्ष काम गरिसकेको छ, “त्यसैले उनको दक्षता र मेहनतप्रति हामीलाई पूर्ण विश्वास छ,” हरिवंशले भने ।
‘जात्रा’ प्रर्दशनपछि मह सञ्चारले निर्माण गर्ने फिल्मको तयारीमा जुट्ने हरिवंशले जानकारी दिएका छन् । स्कृप्ट लगभग तयार भइसकेकाले तिहारपछि आवश्यक अन्य तयारी थाल्ने उनको भनाई छ । फिल्ममा हरिवंश र मदनकृष्णको साथमा अहिले ख्याति कमाइरहेका कलाकारहरुसमेत रहनेछन् । हरिवंशले भने, अहिलेका हट र हिट नायक, नायिका पनि रहनेछन् ।