सुर्खेत, ५ कार्तिक । सुर्खेत–जुम्ला सडक योजना खारेज भएको छ । कर्णाली राजमार्गको स्तरोन्नति सन्तोषजनक नरहेको गुनासो खेपिरहेका योजना प्रमुख कार्यालयमा नबस्दा सडक योजना खारेज भएको हो ।
गत आवमा तत्कालीन योजना प्रमुख शिरबहादुर घिमिरेको सरुवा भएसँगै उनको ठाउँमा अर्को प्रमुख नआउँदा योजना समस्यामा परेको हो । पछिल्लो समय विभागले डिभिजन कार्यालय चौहरजारी रूकुमका प्रमुख जितेन्द्रकुमार चौधरीलाई सुर्खेत–जुम्ला सडक योजनाको अतिरिक्त कार्यभार दिएको थियो । तर, योजनाको दयनीय अवस्था देखेपछि चौधरी साउनमा एकपटक आएर फर्केपछि अर्को कोही प्रमुख आएनन् । योजना खारेजसँगै अघिल्लो आवमै काम सकेका १० ओटा ठेकेदार कम्पनीको करीब ४ करोड रुपैयाँ अझै बुझाउन बाँकी छ ।