काठमाडौ, ५ कार्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे हिजो मात्रै नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ । भ्रमणको तयारीलाई दुवै देशका तर्फबाट अन्तिम रूप दिनका लागि नेपाल आएको भारतीय टोली र परराष्ट्र मन्त्रालयका अधिकारीबीच छलफल भएको हो ।
परराष्ट्र मन्त्रालयनिकट स्रोतका अनुसार भारतीय पक्षबाट राष्ट्रपतिको भ्रमणका लागि करिब चार सयको सङ्ख्यामा भारतीय कमान्डो टोली पनि आउने छन् । ‘सुरक्षा खतरा वा त्यस्तो कुनै विशेष परिस्थिति भनेर होइन कि प्रोटोकलको कारणले हो,’ परराष्ट्रका ती अधिकारीले भने, ‘एक वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको बेला पनि करिब दुई सयको सङ्ख्यामा कमान्डो टोली खटिएको थियो ।’