Indrenionline.com

भारतीय बाँधका कारण हजार हेक्टर नेपाली भूमि डुब्यो

कपिलवस्तु, ४ कार्तिक । भारतले पानी जम्मा गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको ४ बाँधको फाटक बन्द गर्दा नेपालको नौ सय ४० हेक्टरमा लगाइएको धान बाली डुवानमा परेको छ। गत असोजमा आएको वर्षापछि भारतीय पक्षले निर्माण गरेको बझाहा, महलीसागर, सिसवा र मझौलीमा रहेको बाधको फाटक नखोलेपछि दक्षिणी एक दर्जन गाविसको काटने अवस्था रहेको धानबाली लगाइएको भूभाग डुवानमा परेको हो।

                                                                                             बझाहा बाँध

कृषि कार्यालय अनुसार चार बाँधका कारण ५ गाविसका १५ गाउमा लगाइएको नौ सय ४० हेक्टर बढी काटने अवस्थामा रहेको धानमा क्षति पुगेको छ। सबै भन्दा बढी बझाहा बाधका कारण ६ सय बढी हेक्टर धान खेत डुबानमा परेको हो। पिपराको तुल्सीडहवामा सय, गौरामा २ सय, बलहुवा गाविसको सिसहनियामा ३५, बिजुवा गाबिसको १ देखि ६ वडाका २ सय ७५ हेक्टर धानबाली पानीमा चुर्लुम्म डुबेको छ। यस्तै तितिर्खी गाबिसको रजवापुरमा ६०, पकडीमा १ सय ५०, दरखसवामा ३०, रंगपुरको पुन्नीहवामा ६० र रतपुरमा ३० हेक्टर क्षेत्र डुबानमा परेको पीडित कृषक बताउँछन्। अहिले खेतमा ५ फिट बढी पानी जमेको छ । डुवनकै कारण २०–२५ वर्ष यता कृषकले राम्ररी खेतीपाती स्याहार्न पाएका छैनन्।

असोजको वर्षापछि बाधको ढोका नखोलिादा ढेड दर्जन गाँउमा लगाइएको हजार बढी हेक्टर धानबाली पानीले डुेको पिपरा गाविसको तुलसीहिडवाका जगदी यादवले बताए। ‘पानीमा डुबेकोले काटने अवस्थामा रहेको धान ढलेको छ,’ उनले दुखी हुँदै भने, ‘खेतको आली डुबेको छ, धानका बाला डुबेर उम्रेको छ।’ केही दिनमौ पानीलाई निकास नदिए नेपालतर्फका हजारौं कृषकले ठूलो क्षति ब्याहोर्नु पर्ने उनले बताए।

करिब ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको बझाहा तालमा पानी जम्मा गरेर भारतले सिंचाई गर्ने गरेको छ। तालमा २८ वटा फलामका ढोका राखेर बाँध बनाइएको छ। बझाहा क्षेत्रमा भारतले १० किलो मिटर क्षेत्र वरिपरि बाँध बनाएको छ। २८ वटा बन्द गरिँदा जमेको पानी निकास हुन पाएको छैन। सीमा क्षेत्रको उक्त ठाँउ बाँधका कारण बर्षेनी डुबानमा पर्दै आएको छ। सीमा क्षेत्रको बजहा तालले बर्षेनी नेपाली कृषकलाई पीडा दिँदै आएकाले यसको दीर्घकालीन समाधान खोज्नु पर्ने कृषकहरुको माग छ।