वर्दिया, २ कार्तिक । खुल्ला सिमानाका कारण बर्दियामा वैदेशिक रोजगारको प्रलोभनमा पारी मानव बेचबिखनका घटनामा वृद्धि भएको छ । विदेशमा राम्रो जागिर पाइने र धेरै पैसा कमाइ हुने प्रलोभन देखाउँदै दलालहरुले बेरोजगारहरूलाई विदेशमा लगेर बेच्ने गरेको पाइएको छ ।
तस्करहरुको जालोमा बेरोजगार तथा आर्थिक रूपमा कमजोर वर्गका महिला तथा युवा विदेशमा राम्रो काम पाइने लोभमा सजिलै फस्ने गरेका छन् ।
घरमा जीवनस्तर धान्न गाह्रो भएपछि विदेशमा गएर धेरै पैसा कमाउने आशमा भारतको निशानगाडा हुँदै कुवेत जान लागेकी बर्दिया सानोश्री तारातालकी २१ वर्षीया कविता (नाम परिवर्तन) लाई गएको आइतबार बर्दिया प्रहरीले ताराताल भन्सार सीमाबाट उद्धार गरेको थियो ।
प्रहरीले शंका लागेर सोधपुछ गर्दा बेच्न लैजान लागेको कुरा थाहा भएपछि बाँसगढी नगरपालिका–७ निवासी ३५ वर्षीय हिरा हमाललाई पक्राउ गरेको थियो ।