उदय बीसी
दाङ, २ कार्तिक । पछिल्लो समयमा दाङ सिमेन्ट उद्योगको केन्द्र बन्दै गएको छ । जिल्लाका पहाडी भेगमा रहेका चुन ढुंगा खानीलाई केन्द्र बनाउदै दाङमा पछिल्लो समयमा सिमेन्ट उद्योग गपिदैछन् ।
यी उद्योगहरुमा न्यूनतम एक अर्बदेखि १० अर्बसम्म लगानी भएको छ । उद्योग मन्त्रालयमा पेस भएको विवरणअनुसार दाङका सिमेन्ट उद्योगमा करीव ४१ अर्ब लगानी भएको छ । गोग्लीस्थित घोराही सिमेन्ट उद्योग र दुधसारस्थित सोनापुर सिमेन्ट उद्योगले विगत दुई वर्षदेखि आफ्नो उत्पादन बजारमा ल्याइसकेका छन् भने देउखुरीमा निर्माण हुन लागेको सम्राट सिमेन्ट उद्योगले अबको केही महिनामा उत्पादन बजारमा ल्याउने तयारी गर्दैछ ।
त्यसैगरी दाङलाई आधार बनाएको तर पूर्वाधार अर्घाखाँचीमा स्थापना भएको शुुभश्री अग्नी सिमेन्टले पनि आफ्नो उत्पादन बजारमा ल्याउने तयारीमै छ । दाङ र सोल्पालाई आधार बनाएर स्थापना भएको रोल्पा सिमेन्ट उद्योग विद्युतको समस्याका कारण आफ्नो उत्पादन बजारमा ल्याउन सकेको छैन भने दाङ सिमेन्ट उद्योग, अरनिको आबुुखैरेनी सिमेन्ट उद्योग भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।