काठमाडौः राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नुपूर्व पारदर्शी र औपचारिक रूपमा गिरिजाप्रसाद कोइराला सरकारलाई हस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका अधिकांश दस्ताबेज गायब भएका छन् ।
तत्कालीन संविधानसभाले राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेलगत्तै दरबारका कर्मचारीले त्यहाँ भएका सबै दस्ताबेज राष्ट्रिय सम्पत्तिका रूपमा संग्रहालय बनाएर राखियोस् भनेर नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । त्यतिबेला दरबारले डकुमेन्टको प्रकृति हेरेर अधिकांश परराष्ट्र मन्त्रालयलाई, केही गृह, केही सामान्य प्रशासन र केही नेपाली सेनालाई बुझाएको थियो ।
तर ती दस्ताबेज अहिले कहाँ छन् भन्ने कसैलाई स्पष्टसँग थाहा छैन । परराष्ट्र मन्त्रालयका दुईवटा कोठामा ताला लगाएर केही फाइल छरपष्ट फालिएको छ तर त्यहाँ के छ भन्ने रेकर्ड मन्त्रालयसँग छैन । कतिपय महत्वपूर्ण दस्ताबेज धमिराले खाएका छन् भने कतिपयमा ढुसी लागेर अक्षर मेटिएका छन् अन्नपुर्ण पोष्टमा समाचार छ। गृह र सामान्य प्रशासन मन्त्रालयमा अहिले दरबारका कुनै दस्ताबेज छैनन् ।
तत्कालीन राजाहरूले स्वदेश र विदेशमा गरेका विभिन्न भेटघाटका डकुमेन्टेसन गर्ने चलन थियो ।
ती सबै डकुमेन्टहरू तत्कालीन राजदरबार संवाद सचिवालयले नेपाल सरकारलाई बुझाएको थियो । ‘हामीले राजसंस्थासँग भएका सबै दस्ताबेज नेपाल सरकारलाई लिखत गरेर बुझाएका थियौुं, तत्कालीन राजदरबार संवाद सचिवालयका सहसचिव तथा वर्तमान सरकारका सचिव शरदराज बिष्टले अन्नपूर्णसँग भने, ‘तत्कालीन राजसंस्थाले विभिन्न मुलुकसँग गरेका सन्धिसम्झौतादेखि दरबारले विभिन्न समयमा गरेका निर्णय, निर्देशनसहित कार्यालयमा रहेका कम्प्युटर र ल्यापटपसमेत नेपाल सरकारलाई बुझाएका थियौं तर त्यो अहिले कहाँ कुन अवस्थामा छ, कुनै पत्तो छैन ।