उपयुक्त समय मिलाएर नेपाल आउँछु, राष्ट्रपति पिङ
असोज २९, गोवा भारत । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच भेट बार्ता सम्पन्न भएको छ ।
जवाफमा चीनियाँ राष्ट्रपति पिङले नेपालले दिएको भ्रमणको निम्तोलाई स्वागत गर्दै उपयुक्त समय मिलाएर आफूले नेपाल भ्रमण गर्ने बताउनु भयो । भेटमा राष्ट्रपति पिङले पहिले पनि नेपालले भ्रमणको निम्ता गरिसकेकाले कुटनीतिक तहबाट भ्रमणको मिति तय हुने जानकारी दिँदै उपर्युक्त समय लिएर आफूले नेपाल भ्रमण गर्ने जानकारी दिनुभएको हो ।
भेटमा प्रधानमन्त्रीले चीनसँग नेपाल सरकारले विभिन्न समयमा गरेका सम्झौताहरु पूर्णतः कार्यान्वयन गर्न नेपाल प्रतिवद्ध रहेको जानकारी दिँदै केरुङ, रसुवागडी नाका शिघ्र सञ्चालनका लागि राष्ट्रपति पिङसँग आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको जानकारी दिँदै नेपालले बिशाल छिमेकी चीन र भारतबीच सन्तुलित सम्बन्ध विकास गरेर लाभ लिन चाहेको स्पष्ट पार्नुभयो ।
भेटका अवसरमा राष्ट्रपति पिङले चीन नेपालको राष्ट्रिय एकता र संविधान कार्यान्वयनमा सधैं सकारात्मक रहेको जानकारी दिँदै चीन, भारत र नेपालबीच त्रीदेशीय सम्बन्ध विकास गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति पिङले नेपालको जलविद्युत्, उर्जा र पूर्वाधार निर्माणको क्षेत्रमा चीनले सहयोग गर्न चाहेको बताउँदै बिमिस्टेकलाई प्रभावकारी बनाउन नेपालको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
भेटमा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायत हुनुहुन्थ्यो भने चीनियाँ पक्षबाट राष्ट्रपति पिङ लगायतका उच्च अधिकारीहरु सहभागी रहनुभएको थियो ।