पृष्ठभूमि :
महाभारत पहाडको तल्लोखण्डबाट उत्पत्ती भएर बहने बबई(सरयू) नदी धार्मिक पर्यटनको लागि नयाँ आधार बन्ने संभावना रहेको जानकारहरु बताउँछन्, दाङको रामपुर गाविस सिमलटारा मेलझाँक्री सामुदायीक वन क्षेत्र भित्रबाट सरयू नदी आरम्भ हुने गर्दछ, समुद्री सतहबाट करिब १४ सय मिटर अग्लो भूभागबाट बग्ने सरयू धार्मिक तथा पर्या पर्यटनको गतिलो करिडोर क्षेत्र बन्ने उनीहरुको दावी छ ।
नेपालमा कतै बबई, कतै भादा भनिने गरिएपनि भारतमा सरयू गंगाको नाँउले निकै प्रख्यात छ, दाङको दक्षिण तथा चुरे पहाडको काखहुदै विशाल बर्दियाको मैदानी भाग भएर बहने बबई(सरयू) प्राकृतिक धार्मिक महत्वले निकै वैभव छ । बर्दिया राष्ट्रिय निकुन्ज छोएर बहने बवई जलपर्यटनका लागि पनि निकै अब्बल मानिन्छ,विशेषगरि धार्मिक पर्यटकहरुको रोजाइमा पर्ने सरयूको महिमा रामायणमा उल्लेख छ, यसलाई कतै सरयू, कतै बबै त कतै भादा भनेर सम्बोधन गरिएपनि धार्मिक ग्रन्थहरुमा सरयूकै नाँउले उल्लेख छ, धार्मिक पूण्यभूमि अयोध्या सरयू नदीको किनार तटमा अवस्थित छ । जहाँ वर्षेनी लाखौ धार्मिक पर्यटकहरु पुग्ने गर्दछन् । धार्मिक आस्थाको रुपले प्रख्यात सरयूको भारतमा जति महिमा छ, त्यो नेपालमा असाध्य नगन्य छ । धार्मिक र प्राकृतिक पर्यटन अथवा तिर्थाटनका लागि अत्यन्तै संभावना रहेको सरयू टुरिज्म करिडोरको प्रवद्र्धन गर्ने विषयमा कसैको ध्यान पुग्न नसक्ता यसका बहुआयामीक संभावनाहरु खेर गइरहेका छन् ।
नयाँ टुरिज्म करिडोरको संभावना :
तर धार्मिक पर्यटनको संभावनालाई राज्यले उपेक्षा गरेको उनको आरोप छ । यद्यपी नयाँ रुटको प्रवद्र्धन गर्न सके करिडोर प्रभाव क्षेत्रको मात्र होइन सिंगो मध्यपश्मिमा पर्यटन क्षेत्रबाट आर्थिक सुधार गर्न सकिने उनले जिकिर गरे । पर्यटनविदका अनुसार सरयूको धार्मिक महत्वलाई उजागर गरि नयाँ पर्यटकीय करिडोर बनाउन सकिन्छ, धार्मिक, प्राकृतिक तथा जल पर्यटनको अथाह संभावना भएको सरयूलाई नयाँ रुटको रुपमा प्रवद्र्धन गर्न सकिने उनीहरुको तर्क छ ।
बर्दियादेखि दाङ हुदै स्वर्गद्धारी गौमुखी मुक्तिनाथबाट रारा र त्यहाँबाट मानसरोवरसम्म लैजान सकिन्छ । राप्ती टुरिज्म सर्किटको विकास गर्नका लागि सरयू टुरिज्म करिडोर अर्काे आधार भएको ट्रेकिङ अनुसन्धानकर्ता मानबहादर खत्रीले बताए, बर्दियादेखि मानसरोसम्म पर्यटक पुराउन सरयू टुरिज्म करिडोर सोझो र भरपर्दाे हुने खत्रीको तर्क छ । बर्दिया, दाङ ,प्यूठान बाग्लुङ र मुक्तिनाथलाई सिधा जोड्न यो नयाँ रुट निकै उपयोगी हुन सक्छ, भारतदेखि बर्दिया दाङ(पाण्डबेश्वरधाम) स्वर्गद्धारी गौमुखी बाग्लुङ हुदै मुक्तिनाथ र मानसरोबरसम्म नयाँ पर्यटन रुट बनाउन सकिने संभावना छ । बबई किनारै किनार नयाँ ट्रयाक संचालन गरि पर्यटकलाई ड्राइभ टुर अथवा ट्रेकटुरको माध्यमबाट ओहोरदोहोर गराउन सकिने प्रवल सम्भावनालाई राज्यले कार्यान्वयन नीति बनाउन आवस्यक भएको खत्रीले सुझाव दिए ।
राप्ती टुरिज्म सर्किटको नयाँ आधार :
पर्यटनको दीगो व्यवसायीकरण गर्न र यसलाई अन्तराष्ट्रिय बजारमा पुराउन मुलतः पूर्वाधारमै जोड दिन आवस्यक छ । मध्यपश्चिम त्यसैमा पनि राप्ती प्रभाव क्षेत्रमा यस्ता पूर्वाधारको विकास गर्न दीगो योजनाका साथ अघि बढे धार्मिक र पर्या पर्यटनबाट यस क्षेत्रमा आर्थिक विकास गर्न सकिने अर्थविदहरुको सुझाव छ । पर्यटकीय वैभवताले समृद्ध मानिने मध्यपश्चिममा सरयू टुरिज्म करिडोर बलियो आधार बन्न सक्ने उनीहरुको कथन छ, यद्यपी पर्यटन सम्वद्ध निकायहरुको ध्यान पुग्न सकेको छैन, यतिमात्र होइन बर्दिया राष्ट्रिय निकुन्जदेखि सरयू नदीको किनारै किनार नयाँ रुटको उजागर गर्न सके बर्दिया राष्ट्रिय निकुन्जसंग दाङ सिधा जोडिन्छ, दाङमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न सके दाङबाट बर्दिया पर्यटक पुराउन सकिन्छ । त्यस्को लागि सडक संजाल, पैदलमार्ग र अन्तराष्ट्रिय विमानस्थलको निर्माण सहित अन्य पर्यटकीय पूर्वाधारको विकासमा कदम उठाउन सक्नुपर्छ। राप्तीको भौगलिक संरचना अनुसार दाङमा अन्तराष्टिय विमान स्थल निर्माण, राप्ती लोकमागर्, शहिदमार्ग, कोइलाबास अर्खा सडक संजाल र सरयू टुरिज्म करिडोर यसका बलिया आधार हुन् । यद्यपी नयाँ करिडोरको संभावनाको खोजी तथा रुट निर्माण गर्ने औपचारिक वहस भने हुन सकेका छैनन् ।
पर्यटन रुटको चौघेरामा दाङ बन्ने संभावनाको आधार
पर्यटनको नयाँ गन्तव्य राप्ती, आर्थिक सामरिक तथा कोर केन्द्र, पर्यटनको प्रवेशद्वार, सुरक्षित उडान, विशाल भूगोल,सडक संजालमा जेलिएको, भौगलिक सुगमता, मध्य पश्चिमको आधार क्षेत्र, औद्योगिक क्षेत्र विकासको संभावना, कृषी हबको संभावना, शैक्षिक गन्त्व्यको संभावना, प्रस्तावित प्रदेशको राजधानीको संभावना, होटेल तथा आवासको विकास गर्न सकिने, चुरेका विशाल वन क्षेत्र, पर्याबरणीय सन्तुलन र अनुकुल हावापानी इत्यादिका कारण दाङमा अन्तराष्टिय विमान स्थल बन्न सक्छ, दाङमै पर्यटक उतारेर बर्दिया बाँके सुर्खेत अनि रोल्पा रुकुम प्यूठान बाग्लुङ गुल्मी पाल्पा समेत पुराउन सकिन्छ, तर यसको संभावनाको विस्तृत अध्ययन गरि कार्यान्वयन गर्न जिम्ेवार तहसम्म पुराउन पर्यटन क्षेत्रमा क्रियाशिल सबै निजी सरकारी तथा सामुदायीक तहबाट पहल गर्न ढीला गर्न हुदैन । ग्रामीण पर्यटनको प्रवद्र्धन स्थानीय उत्पादन रोजगारी होटेल आवासको विकास सडक संजाल संचार लगायतको क्षेत्रमा लगानी बढाउने संभावनाहरुको ढोका खुल्ने भएकोले सरयू धार्मिक पर्यटन करिडोरको उजागर गर्न आजैका दिनदेखि वहसको थालनी गरौ समृद्ध मध्यपश्मि निर्माणको संकल्प गरौ ।
मध्यपश्चिमको पर्यटन विकासको नयाँ आधार सरयू टुरिज्म करिडोर बलियो आधार बन्न सक्छ, यहाँको धार्मिक सांस्कृतिक पर्या तथा साहसिक पर्यटनको विकास गर्न करिडोर भरपर्दाे माध्यम बन्न सक्छ, भारतीय पर्यटकलाई मध्यपश्चिम क्षेत्रमा घुमाउन र बर्दियादाङ प्यूठान रोल्पा बाग्लुङ अनि मुक्तिनाथ हुदै मानसरोबरसम्मको यात्रा गर्ने नयाँ ढोका खुल्न सक्छ । जसले दाङ प्रदेशको राजधानी बन्ने संभावनाको उजागर गरि बाँके बर्दिया रोल्पा प्यूठान रुकुम सल्यान गुल्मी बाग्लुङसम्मको क्षेत्रमा यसको प्रभाव रहने भएकोले यसलाई कार्यान्वयनमा ल्याउन वहसको थालनी गरौ ।
