
दसैँ अवसरमा प्रवासी नेपाली मञ्च युएईले दुबईको जाविल पार्कमा गरेको दसैँ मिलन कार्यक्रममा भट्टराईले विदेशमा समस्यामा परेका नेपालीका बारे सम्बन्धित देशका सरकार, त्यहाँ रहेको नेपाली दूतावास मार्फत सचेत गराउने र नेपाल सरकारले जोखिम अवस्थामा रहेका नेपालीको उद्दार गरेर स्वदेश फर्काउने वा त्यही देशमै सुरक्षित काममा लगाउनु पर्ने बताउनुभयो ।
यस विषयमा सरकारले विशेष निर्णय लिएर काम गर्नुपर्ने भन्दै एमालेले प्रतिपक्षमै बसेर सरकार तथा संसदमा कुरा उठाउने बताउनुभयो । उज्यालोसँग शुक्रबार दुबईमा कुरा गर्दै एमाले नेता भट्टराईले विदेशका जेलमा रहेका नेपालीलाई उद्दार गर्न वकिल खटाउनु पर्ने भए खटाएर, आर्थिक सहयोग गरेर हुने भए उपलब्ध गराएरै भएपनि उद्दार गर्नुपर्ने बताउनुभयो ।
विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुमा राजनीतिक भागवन्डाका आधारमा नियुक्ती गर्ने गरेका कारण उनीहरुले प्रभावकारी काम नगरेको भन्ने गुनासो आएपनि दूतावासमा आवश्यक स्रोत साधनको अभाव, कर्मचारिको दक्षता तथा आवश्यक बजेट अभावमा त्यसो भएको र सरकारले यस्ता विषयमा ख्याल गर्नुपर्ने बताउनुभयो ।
विदेशमा रहेका ३० लाख नेपालीहरुले विदेशबाटै मतदान गर्न पाउनुपर्ने व्यवस्था गर्ने विषयमा नेपालका सबै राजनीतिक दल एकमत भएपनि प्राविधिक,तथा प्रशाशनिक तयारी गर्नुपर्ने भएकाले अझै केही वर्ष लाग्ने बताउनुभयो ।
भट्टराईले प्रवासी नेपालीले सामूहिक रुपमा गर्ने लगानीको सुरक्षाको प्रत्याभुति दिलाउन आफूहरु प्रतिवद्ध रहेको दाबी गर्नुभयो । कार्यक्रममा युएईका लागि कार्यबाहक राजदूत नेत्रबहादुर टण्डन , प्रवासी मन्चका अध्यक्ष श्याम कँडेल लगायत पार्टीनिकट पदाधिकारीको सहभागिता थियो ।